Welcome to the complete news site

पोखरामा आन्तरिक पर्यटक बढे, रोजाइमा ‘प्याराग्लाइडिङ ’

0 22

पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

कोरोना पछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको सङ्ख्या बढेको उनले बताए । “अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या राम्रो छ यसले प्याराग्लाइडिङ व्यवसायीलाई उत्साहित बनाएको छ ।” गत वर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि यो वर्ष भने छुट दिन नसकेको उनको भनाइ छ ।

“गत वर्ष पर्यटन प्रर्वधन गर्ने उद्देश्यसहित ५० प्रतिशत छुटमा उडान गराएका थियौँ, तर त्यो रकमले उडानका अपरेटिङ कस्ट पनि उठ्न गाह्रो भयो, त्यसैले अहिले छुटमा उडान गर्न सकेनौँ ।” लामो समय उडान नहुँदा इक्विपमेन्ट मर्मत गर्नुपर्ने र ग्लाइडर पनि नयाँ खरिद गर्नुपर्ने भएकाले पनि अहिले छुटमा उडान गर्न कम्पनी तयार नभएको उनले बताए ।

प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीका अनुसार दसैँको समयमा दैनिक करिब ४०० सम्म उडान भएको र अहिले दैनिक एक डेढ सय उडान भइरहेको जानकारी दिए। “साहसिक खेलमा रुचि हुने आन्तरिक पर्यटकका कारण व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको छ ।” “गत वर्ष असोजमा पनि बन्दाबन्दि खुकुलो पछि प्याराग्लाइडिङ गर्ने सङ्ख्या निकै राम्रो थियो, कोरोनाको दोस्रो लहरले फेरि रोकियो, अहिले भने केही आशा जगाएको छ ।”

पहारीले विशेष गरी १५ देखि ४० वर्षसम्म उमेर समूहकाले उडानमा बढी रुचि देखाउने गरेको बताए । उनीसँग ७५ वर्ष सम्मकालाई उडाएको अनुभवसमेत छ । पहारीका अनुसार उडान गर्ने कलेजका विद्यार्थी र कर्पोरेट क्षेत्रका बढी रहेका छन् । सरकारी कर्मचारी भने अलि कम छन् । उडानको मज्जा लिने कास्की जिल्लाका २० प्रतिशत र अन्य जिल्लाका ८० प्रतिशत छन् ।

दसैँको तिहारको समयलाई सदुपयोग गर्दै यहाँ घुम्न आएका हेटौँडाका सिजन र रमिता कोइरालाले पनि प्याराग्लाइडिङबाट पोखरा र आसपासका सुन्दर दृष्य अवलोकन गर्दा निकै आनन्द लागेको बताए । “पर्यटकीय सहर पोखराको सुन्दरतालाई चराजस्तै उडेर सुन्दर हिमशृङ्खला, फेवातालसँगै डाँडाकाँडाको हरियाली दृश्य निकै मनमोहक लाग्यो, उडान पनि निकै रोमाञ्चक लाग्यो ।” सिजनले भने ।

यहाँ हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् यसमा १२ महिला छन् । यहाँ ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करिब रु एक अर्बको लगानीे छ । अहिले छ हजार शुल्कमा उडानको मजा लिन सकिन्छ । हिमालय स्काइ एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक माधव तिवारीले ‘सेफ्टी र सेक्युरिटी’लाई ध्यान दिएर उडान भइरहेको जानकारीदिए ।

विगतमा प्यारा पाइलटबाट भएका कमिकमजोरी र लापर्बाहीका कारण केही दुर्घटना भएका घटना सार्वजनिक भएसँगै अहिले उडानमा विशेष सुरक्षा सतर्कता अपनाइएको उनले बताए । “विगतमा एकाध घटनाले पोखराको आकाश असुरक्षित छ कि भन्ने आशंका जन्माएको थियो, तसर्थ पनि अहिले उडान सुरक्षालाई कडाइ गरेर पूर्ण सेक्युरिटीका साथ उडान गरिएको छ ।” प्यारापाइलट र यात्रु दुवैले उडानका नियमलाई पूर्णरुपमा पालना गर्नुपर्ने सञ्चालक तिवारीको भनाइ छ ।

रासस