Welcome to the complete news site

पोखराको फोहोर १२ दिनपछि ल्यान्डफिल साइटमा लगिंदै, अवरोध भए बल प्रयोग गर्ने तयारी

0 5

२३ साउन, काठमाडौं । स्थानीयले अवरोधले १२ दिनदेखि रोकिएको पोखरा महानगरको फोहोर आजदेखि उठाइने भएको छ । पोखरा ३२, लामेआहालका स्थानीयको अवरोध भएपछि फोहोर सडकमै थुप्रिएको थियो ।

अस्थायी ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनका क्रममा फेरि पनि अवरोध सिर्जना भए बल प्रयोग गर्ने महानगरको तयारी छ ।

सोमबार जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि फोहोर व्यवस्थापन लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

पोखरा महानगर प्रवक्ता नम्बर मोतीलाल तिमिल्सिनाले अन्तिम समयसम्म स्थानीयसँग समन्वय भइरहेकाले बल प्रयोग गर्ने स्थिति नआउने जिकिर गरे ।

पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो ।

ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।

लामेआहालमा अस्थायी ल्यान्डफिल साइट बनाउन स्थानीयसँग महानगरले विभिन्न १६ बुँदे सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर फाल्न रोकेका थिए ।

महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकूल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, जितेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।

तर, अदालतले आइतबार निवेदकको मागबमोजिम अन्तरिम आदेश दिनु नपर्ने परमादेश दिएपछि महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो खुला भएको हो ।