Welcome to the complete news site

पोखराका सडकमा स्मार्ट सडक बत्ती र हाइमास्ट लाइट जडान गरिने

0 13

पोखरा । पोखराका सडकमा स्मार्ट सडक बत्ती र व्यस्त चोकमा हाइमास्ट लाइट जडान गरिने भएको छ । पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बीच सहमति भई काम अगाडी बढेको हो ।

पोखरा महानगरपालिकाले नगरको ८० किलोमिटर क्षेत्रभित्र स्मार्ट बत्ती जडान गर्ने र महानगरभित्रका व्यस्त ३० चोकमा हाइमास्ट लाइट जडान गर्ने कार्य अगाडी बढेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार महानगर र प्राधिकरण बीच सहमति भई १२ करोड ७५ लाख ८९ हजारको बोलपत्रलाई स्वीकृत गरि लाइट जडान कार्य अगाडी बढेको हो ।

सम्झौता अनुसार उक्त योजनाको लागतमा महानगर र प्राधिकरणको बराबर साझेदारी रहने प्रवक्ता नेपालीले बताए । उनका अनुसार लागत साझेदारी अनुरुप पोखरा महानगरपालिकाले साझेदारी रकम मध्ये १ करोड ५० लाख प्राधिकरणको खातामा जम्मा भैसकेको छ । साथै दशै लगत्तै निर्माण तथा जडान कार्यको थालनी गर्न निर्माण कम्पनीलाई प्राधिकरणलाई पत्राचार भैसकेको छ ।

त्यस्तै पोखरा महानगर भित्रको ढललाई व्यवस्थापन गर्नका लागि गुरु योजना तयार पार्न महानगर, खानेपानी मन्त्रालय, खानेपानी विभाग र जापान अन्तर्राष्ट्रिय समन्वय संस्था (जाइका) बीच पनि सहमति भएको महानगर प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।