पोखराका मेयर मानबहादुर जिसीलाई हृदयघात
पोखरा, १ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । उनलाई थप उपचारार्थ काठमाडौं लैजाने तयारी छ । आज बिहान ४ बजे हृदयघात भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल, फूलबारी लगिएको थियो । उपचारका क्रममा मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उद्घृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । बराल भन्छन्, ‘चिकित्सकका अनुसार मेयर सावको अवस्था जटिल देखिँदैन । उहाँ हामीहरुसँग बोल्न पनि बोलिरहनु भएको छ।’ मेयर जिसीलाई अहिले हेलिकोप्टरमार्फत काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिने तयारी छ । जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् ।