पोखरा। कोरोना महामारीको बेला दर्शनार्थीको अत्यधिक भिड बढेको भन्दै पुम्दीकोट विशाल महादेव मूर्ति दर्शनमा रोक लगाइएको छ । पोखरा २२, वडा कार्यालयले शुक्रबार सूचना जारी गर्दै पुम्दीभुम्दीस्थित अर्को सूचना जारी नहुँदासम्म सो मूर्ति दर्शनमा रोक लगाउने निर्णय गरेको हो । कोरोना महामारी बढिरहेको भन्दै सबैलाई सुरक्षित हुन र अर्को सूचना नभएसम्म मूर्ति दर्शन बन्द गरिएको वडाध्यक्ष मित्रलाल बरालले बताए । ५१ फिट अग्लो सो मूर्ति पोखराको एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ । पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले असोजसम्म सर्वसाधारणका लागि दर्शनमा खुला गर्ने गरी सम्पूर्ण कार्य सकिने बताए ।