Welcome to the complete news site

पाँचौ पोखरा स्पोर्टस् अवार्ड भव्यताका साथ सम्पन्न

0 41

बहुप्रतिक्षित पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ हिजाे शुक्रबार भव्यताका साथ सम्पन्न भएकाे छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरामा भएको अवार्ड कार्यक्रममा कुल ७ विधामा अवार्ड वितरण गरियो ।

विश्व खेलकुद पत्रकार दिवस अवसर पारेर सेमी-भर्चुअल मार्फत गरिएको कार्यक्रममा वर्ष खेलाडी पुरुषमा नवीन रसाइली (कराते) र वर्ष खेलाडी महिलामा पार्वती गुरुङ (तेक्वान्दो) ले अवार्ड हात पार्नुभयो । उहाँहरु दुई जनाले अर्वाड सहित जनही २ लाख नगद प्राप्त गर्नुभयो । वर्ष उत्कृष्ट पुरुष विधामा टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल तथा वर्ष उत्कृष्ट महिला विधामा साइक्लिङकी जमुना थापा र तेक्वान्दोकी प्रशंसा क्षेत्री प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट केशव रञ्जित (आनन्द) लाई सम्मान गरियो । पोखरा नदीपुर निवासी आनन्दले पोखराको फुटबल विकासमा ठूलो योगदान दिनुभएको छ ।

पोखरा रंगशालाको ब्याडमिन्टन हलमा भएको कार्यक्रममा १४ वर्षीया दुवाना लामा (पौडी) उदीयमान खेलाडी घोषित हुनुभयो । सो विधामा लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।
वर्ष उत्कृष्ट प्रशिक्षकको अर्वाड सुरेश मल्ल ठकुरी (बक्सिङ) ले जित्नुभयो । प्रशिक्षकतर्फ उत्कृष्ट ३ मनोनयनमा पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठ पर्नुभएको थियो । उत्कृष्ट उदीयमान र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरिएको थियो ।

यस्तै वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला आर्चरी संघ कास्की सम्मानित भयो । सो वापतको पुरस्कार संघ अध्यक्ष योगेन्द्र शेरचनले ग्रहण गर्नुभयो।
अर्वाड कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको हो ।

मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपालले बोल्नुभएको थियो भने सञ्चालन सञ्चारकर्मी मन क्षेत्री र कविता श्रेष्ठले गर्नुभयो ।