पोखरा । भारी वर्षाका कारण पर्वतमा पहिरोले एकै घरका ५ सहित १० जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा १ जना बेपत्ता छन् । जिल्ला सदरमुकाम कुष्मा नगरपालिका ३, दुर्लुङ भोगेनीका माधव शर्माको घर माथिबाट शुक्रबार बिहान खसेको पहिरोमा पुरिँदा उनको परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उनकी ७५ वर्षीया आमा कौशिला पौडेल, ३५ वर्षीया श्रीमती भगवती पौडेल, १६ वर्षीया छोरी विमला पौडेल, ११ वर्षीया वीनिता पौडेल र ९ वर्षीय छोरा विनोद पौडेल छन् । यस्तै, कुष्मा ११, सिल्मीका मनिलाल पौडेलको घर माथिबाट खसेको पहिरोले पुरिएको छ । उनको घरमा पाहुना बस्न आएकी मोदी गाउँपालिका ७, राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको छ । मोदी गाउँपालिका ५, अम्बोटमा अविरल वर्षाका कारण ओखलढुंगा सामुदायिक वनबाट आएको पहिरोले फूलमाया थापाको मृत्यु भएको छ । जस्तापाताले बनेको उनको घर पहिरोले बगाउँदा ५० वर्षीय थापाको घटनास्थलमै मृत्यु भएको हो । यसैगरी, कुष्मा ११, पपुवा पाल्चेका हरि पौडेलको घर पहिरोले भत्किँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा उनकी ४० वर्षीया श्रीमती मायाकुमारी पौडेल, ३ वर्षीया छोरा प्रयुसको मृत्यु भएको हो । पहिरोमा हरि पौडेलकी ७० वर्षीया आमा डल्ली पाध्या पौडेल हालसम्म बेपत्ता छिन् । उनको शुक्रबार दिनभर खोजी कार्य भएको थियो । राति भएपछि उद्धार कार्य रोकिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । कास्की र पर्वतमा गरी पहिरोमा परेर २ दिनमै १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका हुन् ।
४ जिल्लाको सम्पर्क बिच्छेद
पहिरोले विद्युत सेवा अबरुद्ध हुँदा पर्वतसहित गण्डकी प्रदेशका ४ जिल्लाको सम्पर्क विच्छेद भएको छ । शुक्रबार बिहान पर्वतको कुश्मा नगरपालिकाका विभिन्न ७ ठाउँमा पहिरो जाँदा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङको सडक, बिजुली र सञ्चार सेवा विच्छेद भएको हो । बाटो अवरुद्ध भएपछि धौलागिरी अस्पताल बागलुङबाट गम्भीर बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी पोखरा ल्याइएको छ । पहिरोले पोखरा–कुष्मा आवातजावत रोकिएको छ । गाडी चल्न सकेका छैनन् । पोखरा ३२, खुँदीखोलाले बगाउँदा ६० वर्षीय रमेश मगरको मृत्यु भएको छ । खोला तरेर गगनगौंडातर्फ जाने क्रममा उनलाई खोलाले ३० मिटर जति बगाएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
Prev Post