Welcome to the complete news site

नेपाल बन्द : पोखरा सुनसान, २ कार्यकर्ता पक्राउ

0 14

पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आब्हन गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ । बन्दमा पोखरा ठप्प छ । विहानैदेखि सवारी साधनहरु चलेका छैनन् । पसलहरु खुलेका छैनन् । अस्पताल, एम्बुलेन्स, तरकारी, पानी बोक्ने साधन, फोहर उठाउने साधन र दुग्धजन्य सवारीका साधन संचालनमा भने बन्दकर्ताले अवरोध गरेका छैनन् ।

यसैबीच, बन्दमा नेकपा (माओवादी) का दुई कार्यकर्ता पक्राउ परेका छन् । पार्टीको कास्की जिल्ला कार्यालय सचिव काजी गुरुङ र पीएन क्याम्पस विद्यार्थी नेता युवराज मगर पोखराको छोरेपाटनबाट बिहानै पक्राउ परेको कास्की जिल्ला ईञ्चार्ज उमा भुजेलले जानकारी दिइन । बन्दलाई सफल बनाउन हिँड्दा उनीहरु पक्राउ परेका हुन । भुजेलले पक्राउ परेका पार्टीका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेकी छन् ।

पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक खाद्यान्नमा निरन्तर चर्को मूल्यबृद्धि गरेपछि आब्हन गरिएको नेपाल बन्दलाई सफल बनाउन सबैमा आग्रह समेत गरिएको छ । बन्द सफल बनाउन बन्दकर्ताले विहानैदेखि पोखराको मुख्य सडक तथा चोकचोकमा टायर बालेका छन् । पोखराको छोरेपाटन, बागलुङ बसपार्क, नयाँबजार, रंगशाला गेट अगाडि, तल्लो गगगनगौंडा, जिल्लाको रुपा र मादीमा टायर बालेको खबर छ ।

आजको बन्दलाई सफल बनाउन पार्टीले काठमाण्डौं, पोखरालगायत देशभरका मुख्य मुख्य शहरहरुमा मशाल जुलुस निकालेको थियो ।