Welcome to the complete news site

नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक सुरु

0 27

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशसँगै विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बैठक सुरु भएको हो ।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, काँग्रेस नेता कृष्ण सिटौला लगायतको उपस्थिति रहेको छ ।

अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको छ ।

सोमबार बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।