नेपाली फिल्म ‘एक्स नाइन’ गर्न सुनिल सेट्टी तयार
सौगात मल्ल, अनमोल केसी र पुष्प खड्काले पहिलो पटक एकसाथ अभिनय गर्न लागेको फिल्म ‘एक्स नाइन’ को अफर बलिउड सुपरस्टार सुनिल सेट्टीलाई पनि गरिएको छ । शुक्रवार फिल्मका निर्देशक मुकुन्द भट्ट र निर्माता विरेन कुँँवरले मुम्बईमा सेट्टीसँग भेट गर्दै फिल्मको कथावस्तु र उनको चरित्रको बारेमा जानकारी गराए । सुनिलले आफूलाई सुनाएको चरित्र मन पराएका छन् ।
निल सेट्टीसँँगको भेट गरेको तस्विर फेसबुकमा साझेदार गर्दै निर्देशक भट्टले लेखेका छन्, ‘हाम्रो फिल्म ‘एक्स नाइन’ का लागि सुनिल सेट्टीसँँग राम्रो बैठक भयो । उहाँलाई मेरो अघिल्लो फिल्म र उहाँलाई सुनाएको ‘एक्स नाइन’ को चरित्र एकदमै मन परेको छ ।’ फिल्ममा सुनिल सेट्टीले काम गर्ने मौखिम सहमति भइसकेको र केही दिनमा कागजी सम्झौता हुने निर्देशक भट्टले बताए ।
उनले मुम्बईबाट फिल्मीखबरसँँग भने- ‘हामीले सुनिल सेट्टीलाई इमेलबाट स्क्रिप्ट पठाइसकेका थियौं । उहाँले हामीसँगको भेटमा एकदमै उत्साहित भएर फिल्मको कथावस्तुको प्रशंसा गर्नुभयो र आफ्नो चरित्र मन परेको बताउनुभयो । उहाँले मैले निर्देशन गरेको फिल्म ‘लप्पन छप्पन २’ को ट्रेलर मन परेको पनि बताउनुभयो । सम्भवतः अबको २/३ दिनमा उहाँसँग पेपर वर्क हुनेछ ।’
पहिला सुनिल सेट्टीलाई भिलेनको भूमिका अफर गर्ने तयारीमा निर्माण टिम थियो । तर, अब उनी फिल्ममा सकारात्मक भूमिकामा देखिनेछन् । उनीसँँग भारु एक करोडमा सम्झौता गर्ने तयारीमा निर्माण टिम रहेको जानकारी प्राप्त छ । फिल्मका लागि भिलेनको भूमिका भने रणदीप हुड्डालाई अफर गरिएको छ । उनीसँग निर्देशक भट्टसहितको टोलीले केही चरण कुराकानी गरिसकेका छ ।
अहिले फिल्मका कलाकारहरु सौगात, अनमोल पुष्प र राज कटुवालले जिम र एक्सन ट्रेनिङ लिइरहेका छन् । यो ट्रेनिङ चार महिनासम्म चल्नेछ । विरेन्द्र बहादुर कुँँवर, मुकुन्द भट्ट, राजिव तामाङ, चन्द्र पन्त, विदुर घतानी र प्रदीप थापा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा निर्मल कुमार मिश्र, विनय श्रेष्ठ, सालिनी पोड्डर छन् । फिल्ममा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ ।
पुषदेखि क्यानडा, यूरोप र नेपालमा छायांकन हुने फिल्मको कथा, पटकथा र संवाद निर्देशक भट्ट र किंग योगीले संयुक्त रुपमा तयार पारेका हुन् । फिल्ममा प्रियंका थापा, नविन लम्सालको पनि अभिनय रहनेछ । फिल्मलाई विश्वको प्रतिष्ठित ओटीटी प्लेटफर्म नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ । यो फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर दाबी गरिएको छ ।