Welcome to the complete news site

नेपाललाई हलिउड फिल्मको छायांकन गन्तव्य बनाउन पहल गर्छु : राजदूत खतिवडा

0 75

अमेरिकाका लागि नेपाली राजदूत तथा पूर्वअर्थमन्त्री युवराज खतिवडाले नेपाललाई हलिउड फिल्मको छायांकन गन्तव्य बनाउन पहल गर्ने बताएका छन् । बिहीवारदेखि भर्चुअल रुपमा सुरु भएको नेपाल-अमेरिका फिल्म फेस्टिभलको शुभारम्भ गर्दै उनले नेपाल प्राकृतिक फिल्म स्टूडियो रहेकाले नेपालमा फिल्म खिच्न हलिउडका निर्माता/निर्देशकसँग आग्रह गर्ने धारणा राखेका हुन् ।

उनले भने- ‘केही दिनअघि लस एन्जल्स सहरको भ्रमण गर्दा मैले केही हलिउड फिल्मका निर्माताहरुसँग भेट गरेको थिएँ । उहाँहरु नेपालमा छायांकनको लागि आकर्षित भएको पाएँ । नेपाललाई हलिउड फिल्मको छायांकन गन्तव्य बनाउनका लागि पहल गर्नेछु ।’ उनले आफू अर्थमन्त्री र सञ्चारमन्त्री हुँदा नेपालमा फिल्म स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरेको पनि स्मरण गरे ।

त्यस्तै, मेरिल्यान्ड राज्यसभाका सदस्य ह्यारी भण्डारीले अमेरिकामा नेपाली संस्कृति र इतिहास जोगाउन आफू लागिपरेको बताउँदै नेपाल र अमेरिकको कथामा फिल्म बनाउन सुझाएका छन् । जुन १७ देखि २० सम्म चल्ने फेस्टिभलमा नेपाल र अमेरिकासहित १४ देशका ३० फिल्म प्रदर्शन हुनेछन् भने प्रतिस्पर्धी फिल्ममध्ये उत्कृष्टलाई नगद र ट्रफीसहित पुरस्कृत गरिने बताइएको छ ।

स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत् महोत्सवमा प्रदर्शन हुने फिल्म र छलफल निःशुल्क हेर्न सकिनेछ । महोत्सवको जुरीमा नेपालबाट रम्यता लिम्बू, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब छन् । नेपाल-अमेरिका फिल्म फेस्टिभलमा आवेदन परेका फिल्म छनोट समितिले छानेको हो ।