Welcome to the complete news site

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

0 18

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट हालसम्म निधन हुनेको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार १९ पुगेको हो। वितेको २४ घण्टामा २५ जनाको मृत्यु भएको छ। नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट ३ जेठ २०७७ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। यस्तै शुक्रवार ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा १८८५ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेमा सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरु रहेका छन् । मन्त्रालयको तथ्यांक अनुसार ६० वर्षदेखि माथि उमेर समूहका ५ हजार ३८७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो कुल मृतकको आधाभन्दा धेरै हो । यसैगरी ५०–५९ वर्ष उमेर समूहका १ हजार ९६१ जनाको मृत्यु भएको छ । ४०–४९ वर्ष उमेर समूहका १ हजार ४३७, ३०–३९ वर्ष उमेर समूहका ८२८ र २०–२९ वर्ष उमेर समूहका ३०४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

९५ जना बालबालिकाको मृत्यु

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ९५ जना बालबालिकाको मृत्यु भएको छ । मन्त्रालयका तथ्यांक अनुसार ०–९ वर्ष उमेर समूहका ४५ जनाको मृत्यु हुँदा १०–१९ वर्ष उमेर समूहका ५० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये सात जनाको भने उमेर खुलेको छैन ।