नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया रद्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो। स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनै पनि कम्पनीले ‘रेस्पोन्स’ नगरेपछि खारेज भएको प्राधिरकणले जनाएको छ। प्राधिकरणले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो। नेपाल दुरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन मोडालिटीको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको थियो। प्राधिकरणको प्रस्तावअनुसार गत पुसमा विभिन्न देशका नौ वटा कम्पनीले आशयपत्र बुझाएका थिए। आशयपत्र पेश गरेका नौ वटा कम्पनीमध्ये प्राधिकरणले गत वैशाखमा ५ वटा कम्पनीलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो। पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकामा चार कम्पनीले मात्र प्रस्ताव पेश गरेका थिए । उक्त चार कम्पनीसँग प्राधिकरणले आर्थिक प्रस्ताव माग गरेको थियो । तोकिएको समयभित्र आर्थिक प्रस्ताव नआएपछि प्रक्रिया नै रद्द गर्नुपरेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए। उनका अनुसार अब पुनः नयाँ प्रक्रियाबाट नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया शुरु हुनेछ।