Welcome to the complete news site

नाम मात्रको निषेधाज्ञा, जताततै भिडभाड

0 22

दमौली । जिल्लाको सदरमुकाम दमौली बजारभरि चहलपहल बाक्लो छ । चोक-चोकमा मानिसको भीडभाड उस्तै छ । बैंकलगायत वित्तीय संस्थाको बाहिर जात्राझैं लाग्ने भिड छ । सरकारी कार्यालयमा पनि सेवा लिनेहरुको उस्तै भिड छ । बाटोमा हिँड्ने र भिडभाडमा रहेकाले मास्क लगाएको देखिँदैन  । न त कायम छ भौतिक दूरी । प्रहरीको निगरानी पनि भेटिँदैन । मास्क नलगाउनेलाई कारबाही गर्न पनि छोडिएको छ । बिहानदेखि साँझ ५ बजेसम्म सबै पसलहरु खुलेका छन् । खुलेका कुनै पनि पसलमा सतर्कता अपनाएको पाइँदैन । मानिसहरु खुलारुपमा आवत-जावत गरिरहेका छन् । सार्वजनिक यातायातमा समेत मापदण्ड लागु भएको पाइँदैन । यात्रुबाहक साधनले कोचाकोच गरेर यात्रु राख्ने गरेका छन् । कोभिड १९ को दोस्रो भेरियन्ट सुरु भएपछि तनहुँमा वैशाख २२ गतेदेखि निषेधाज्ञा सुरु गरेको थियो । त्यसबेलादेखि जारी भएको निषेधज्ञा साउन २० गते सम्मलाई लम्बाइएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाधाले संक्रमणको दर घट्नुको साटो उल्टै बढेको छ । सरकारी नियामक निकायले अहिले मापदण्ड पालना भए नभएको अनुगमन गरेको छैन । तनहुँमा शनिबार एकैपटक १ सय ७ जना नयाँ कोरोना संक्रमित थपिए । अहिले तुलनात्मक रूपमा संक्रमितको संख्या धेरै देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको दर पनि फैलँदो छ । साउनको पहिलो सातामा २ सय ४२ जना सक्रिय संक्रमित रहेकोमा साउन १७ गतेसम्म यो संख्या बढेर ३ सय १८ पुगेको छ । असारको अन्तिम हप्तासम्म दैनिक संक्रमितको संख्या २० भन्दा तल थियो । साउन सुरु भएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । सुरुआती समयमा चेकजाँचमा कडाइ गरे पनि अहिले खुला गरिएको छ । जसकारण जिल्लामा संक्रमण दर ह्वात्तै बढेको हो । सर्वसाधारणले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरेमा फेरि संक्रमण दर भयावह हुने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंखरबाबु अधिकारी बताउँछन् । उनले भने,‘निषेधाज्ञा अहिले पनि जारी छ तर कार्यान्वयन फितलो छ । आवश्यक सावधानी नपअनाएर संक्रमण कुन बेला अर्को रूप लिन्छ भन्न सक्ने अवस्था छैन,’ उनले अघि भने, ‘फेरि संक्रमण समुदायमा फैलिन सक्ने खतरा छ ।’ यस्तो अवस्थामा आवश्यक स्वास्थ्य सतर्कता र स्वास्थ्य मापदण्ड पालनामा सबै पक्ष गम्भीर भइदिए मात्रै विगतको जस्तो विडम्बना नआउने उनको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले निषेधाज्ञा खुकुलो बनाउँदा मानिसहरु सचेत नभएर उल्टै लापरबाही गर्दा जोखिम बढेको बताए । उनले भने, ‘प्रहरीले र प्रशासनले मात्रै डण्डा लगाएर मास्क लगाऊ भने मात्रै गर्ने नत्र वास्ता नगर्ने परिपाटी देखियो,’ उनले अघि भने ‘संक्रमण फैलन नदिन सबैले आ–आफनो ठाँउबाट आफ्नो कर्तव्यको पालना गर्नुपर्छ ।’