देउवाको भाग्य : पाँचौँ पटक प्रधानमन्त्री, चुनौतीको चाङ
काठमाडौं-काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । यसअघि चार पटक प्रधानमन्त्री बनिसकेका उनी सर्वोच्च अदालतको परामादेशसँगै पाँचौँ पटक मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
२०७४ सालमा आफ्नै नेतृत्वमा भएको आम निर्वाचनमा काँग्रेसको लज्जास्पद पराजय भयो । वाम गठबन्धन झण्डै दुई तिहाई बहुमत नजिक पुग्दा काँग्रेस भने ६३ सांसदका साथ प्रतिपक्षी बेञ्चमा थन्कियो । देउवाले संसद्मा प्रतिपक्षी नेताका हैसियतले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप पनि लाग्दै आएको थियो ।
तर, यसबीचमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’मा कलह उत्पन्न हुनु, सर्वोच्चको आदेशअनुसार नेकपा खारेजमा पुगेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रूपमा साबिककै अवस्थामा फर्कनुजस्ता कारणले राष्ट्रिय राजनीति अनपेक्षित मोडमा पुग्यो । यति मात्र होइन, केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटकसम्म प्रतिनिधिसभा विघटनको असफल प्रयास ग¥यो । दुवै पटक संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरिदियो ।