Welcome to the complete news site

दर्ता रद्द भएका माइग्रेसन एजेन्टलाई गैरकानुनी काम गरेको भन्दै जेल सजाय

0 27

असार २३, २०७८, अध्यागमन एजेन्टको काम गरिहेकी भिक्टोरियाकी एक महिलालाई आप्रवासन सम्बन्धी गैरकानूनी काम गरेको भन्दै अस्ट्रेलियन बोर्डर फोर्सले पक्राउ गरेको छ।
उनलाई पीडितको रकम फीर्ता गर्न समेत निर्देशन दिँदै जेल सजायसमेत तोकेको छ।

दर्ता रद्द भएको बेला पनि आप्रवासन सहायता प्रदान गर्ने सम्बन्धका आरोपहरू प्रमाणित भएपछि ४७ वर्षीया महिलालाई नौ महिनाका लागि कैद सजाय दिइएको हो।

अस्ट्रेलियन बोर्डर फोर्स (एबीएफ) का अनुसार आचार संहिताको उल्लघंन गरेका कारण दर्ता खारेज भएकी एक पूर्व अध्यागमन एजेन्टले बिना दर्ता अध्यागमन सम्बन्धी सहायता तथा जालसाजीपूर्ण काम गरेको भन्दै उजुरी प्राप्त भएपछि सन् २०१८ को अन्त्यबाट ती आरोपित महिलामाथि छानबिन सुरु गरिएको थियो।

ती महिलाले सन् २०१४ को डिसेम्बरदेखि सन् २०१७ को डिसेम्बर महिनाका बीच कपटपूर्ण व्यवहार गरेको बताइएको छ।

उनले नक्कली कागजात उपलब्ध गराएर आफ्ना ग्राहकलाई भ्रममा पारेकी थिइन्।

भिसा प्रदान गरिएको वा कतिपय अवस्थामा भने भिसा पाउन ठूलो धनराशी शुल्क बुझाउनुपर्ने जस्ता झुटो विवरण राखेर उनले आफ्ना ग्राहकलाई आश्वस्त पार्न खोजेको आरोप उनीमाथि लागेको थियो।

साथै, ती महिलाले सन् २०१८ मा माइग्रेसन एजेन्टको अनुमति पत्र खोसिएपछि पनि दर्तावाल अध्यागमन एजेन्टका रूपमा काम गरिरहेको बताइएको छ।