टोटेनहमको प्रशिक्षकमा सान्टो नियुक्त
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परले पोर्चुगिज प्रशिक्षक नुनो एस्पिरिटो सान्टोलाई मुख्य प्रशिक्षकको पदमा नियुक्त गरेको छ ।
बिहीबार, असार १७, २०७८ गत सिजन अप्रिलमा मोउरिन्होलाई बर्खास्त गरेपछि क्लबले पूर्व खेलाडी रायन मेसनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । प्रशिक्षक नियुक्तिको लामो प्रक्रियापछि सान्टो र टोटेनहमबीच २ वर्षको सहमति भएको हो । यसअघि टोटेनहमले एन्टोनियो कोन्टे, पाउलो फोन्सेका, जुलेन लोपेटेगुइ, जेनारो गाटुसो लगायत प्रशिक्षकसँग पनि प्रस्ताव राख्दै छलफल अघि बढाएको थियो ।
सान्टोले गत सिजनको अन्त्यसँगै वल्भ्स छाडेका थिए । उनले त्यहाँ चार वर्ष काम गर्दै क्लबलाई इंग्लिस फुटबलको दोस्रो श्रेणीबाट प्रिमियर लिग हुँदै युरोपा लिगको क्वाटरफाइनलसम्म पुर्याएका थिए । सान्टोले टोटेनहम आएपछि क्लबको पहिचान अनुसार नै आक्रामक फुटबल खेल्ने योजना रहेका बताएका छन् ।
‘टोटेनहम आउनु गौरवको विषय हो । म निकै खुसी छु र क्लबसँग काम गर्न आतुर छु,’ उनले भने, ‘हामीसँग धेरै समय नरहेकाले केहि दिनमा नै प्रि सिजन प्रशिक्षणको लागि तयारी गर्नेछौं ।’
सान्टो प्रशिक्षकमा आएसँगै अब क्लबसामु मुख्य फरवार्ड ह्यारी केनलाई क्लबमा नै राख्ने अर्को संघर्ष गर्न बाँकी छ । केनले गत सिजन अन्त्यसँगै क्लबका अध्यक्ष ड्यानीएल लेभीसँग छलफल गर्ने बताएका थिए । केनलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी इच्छुक रहेको बुझिएको छ ।