झारपात नै मेरो भगवान : शेरचन
कविता श्रेष्ठ, पोखरा /
अरुका लागि झारपात फोहोर हुन सक्छ,मेरा लागि झारपात “मेरो भगवान्,मेरो सबै थोक”, आखाँ भरि टिलपिल टिलपिल आँसु बोक्दै हानानो ओशिवाना कलाकार मिलन शेरचनले यसो भनिरहँदा मुहारमा भने खुशी धपक्कै बलेको थियो । सुन्दा अचम्म लग्न सक्छ,तर झारपातले नै मिलन शेरचनको मान अनि स्वाभिमान बढाएको छ । जिवनको सहि उदेश्य देखाएको छ । सुकेका झारपातको कला बाट आफ्नो बेग्लै पहिचान बनाउन सफल छिन् कलाकार मिलन शेरचन । यही कलाकै कारण प्रथम नेपाली एक सय एक महिला पुस्तकमा समेत उनको नाम समावेश भएको छ । हालै मात्र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०७७’ मा शेरचनले राष्ट्रिय ललितकला पुरस्कार जिते पछि अझ काम गर्ने उर्जा बढेको उनी बताउँछिन् । “मलाई समसामयिक विषयले औधी छुन्छ र म त्यहि बिषय कलामा उतार्ने कोशिस गर्छु । अहिले नेपालको चुच्चे नक्साको चित्र बनाएकी छु । पहिलो पटक पोखरेली कलाकारले प्रथम भएर राष्ट्रिय पुरस्कार जितेको र यसै मार्फत पोखरालाई चिनाउन पाउँदा मनै आनन्द भएको छ ।— उनी थप्छिन् ।”
जापानको कला यसरी भित्रियो नेपाल
हानानो ओशिवाना जापानी शब्द हो । फूललाई जापानी भाषामा ‘हाना’ भनिन्छ। त्यस्तै ‘ओशिवाना’ भनेको च्यापेर सुकाउने विधि हो । दाजु अमेरिकामा भएका कारण कलाकार शेरचनलाई पनि अमेरिका जाने अवसर मिल्यो । केही समय अमेरिका बसाइपछि त्यतैबाट उनी जापान लागिन् । जापानको बसाइमा साइतो सान भन्ने साथीसँग उनी एउटा कला प्रदर्शनीमा पुगिन् । त्यहाँको कलाबाट उनी प्रभावित भइन् । जापानी कलाकार नोहारा उमीबाट हानानो ओशिबानाका बारेमा सिकिन् । जापान बाट नेपाल फर्केपछि शेरचनले यो कला नेपालमा पनि भित्रायाइन् । नेपाल फर्केपछि उनको प्रतिभाले निखारिने मौका पायो । उनले वरिष्ठ कलाकार बुद्धि गुरुङसँग आधुनिक चित्रकला बनाउन सिकिन्। ‘क्यानभासमा वाटर कलर र एक्रेलिक कलर खेलाउन बुद्धि दाइसँग सिकें’, उनी सम्झिन्छिन्, ‘त्यसले मेरो कलालाई परिमार्जन गर्न सहयोग पुर्यायो ।
प्रेरणा घरबाटै
पोखराको कलापूर्ण वातावरणमा जन्मेहुर्केकी शेरचन सानैदेखि कलाकर्ममा सक्रिय हुन्थिन्। मकैको खोस्टाबाट पुतली बनाएर उनले वि.स २०४२ सालमै पुरस्कार जितेकी थिइन्। उनका हजुर बुवा भीमबहादुर भट्टचन, धन शमशेर जवराको मोहारियाटोल स्थित दरबारमा सितारावादक र तवलावादकका रुपमा आवद्ध थिए । बुवा झपटबहादुर भट्टचन पनि हस्तकलामा पोख्त । कला र संगीतको पारिवारिक पृष्ठभुमिले उनलाई कलाप्रतिको मोह जगायो । घरमा कलामय पारिवारिक वातावरण र विद्यालय तहमा गृह विज्ञान बिषयले उत्प्रेरणा दिएको उनी बताउँछिन् । चित्रकलामा मात्र नभइ साहित्य र संगीतमा समेत शेरचनको रुची छ । घरमा गीत संगीत गुनगुनाउँदै चित्रकलामा भुल्ने बानी उनमा छ । उनकी दिदी उषा शेरचन पनि लोकप्रिय कवि हुन् ।
सजिलो छैन झारपातका कला
झारपातका चित्रकला हेर्दा जति रोचक र मनमोहक छ, प्रस्तुतीकरण उतिकै गाह्रो रहेको शेरचनको बुझाई छ । “झलक्क हेर्दा झारपात सजिलै पाइन्छ जस्तो लाग्छ तर यो बुझाई गलत हो”, अनुभवका आधारमा शेरचन भन्छिन्,“सोचे जस्तो सजिलो छैन यो कला,झारपातको खोजीमा कुनाकाप्चासम्म पुग्नुपर्छ।” कहिले जुकाले टोक्छ भने कहिले रूखमा चढ्नुपर्छ । कहिले जीउमा कुरो टाँसिन्छ त कहिले टन्टलापुर घाममा असिनपसिन भइने उनी बताउँछिन् । भन्छिन्,“झारपातको काम कहाँ सजिलो हुनु र , धेरै मेहेनत पो गर्नुपर्छ ।” रंगविरंगीका पात खोज्न उनी गाउँघर र वनजंगलमा डुुल्छिन् । तिनै पातलाई क्यानभासमा टाँसेर विभिन्न रूप दिइन्छन् । उनी कुनैकुनै चित्रमा फेब्रिक कलर पनि प्रयोग गर्छिन्। कुनै भने विनाकेमिकल कलर नै बनाउँछिन् । काम प्रति लगाव र निरन्तरता भए असहज कार्यलाई सहज बनाउन सकिने शेरचनको धारणा छ ।
कला बन्यो गतिलो आम्दानीको स्रोत
झारपातको कला पृथक कला भएकोले धेरैले रुचि लिने शेरचन बताउँछिन् । उनले यो सिप तीन सय भन्दा बढीलाई हस्तान्तरण गरी सकेकी छिन् । आफ्ना सिर्जनालाई दुई सय देखि दशहजार रूपैयाँ सम्ममा बिक्री गरेको शेरचन बताउँछिन् । कला बुझ्ने र कलाका पारखीहरुले यसलाई खोजि खोजि किन्न घर सम्म आउने पनि शेरचनको भनाइ छ । यस अघि पोखरामै पहिलो पटक सुन्दर पोखराका कर्मठ नारी भाग १ र २ को प्रकाशन गरेर विभिन्न क्षेत्रका क्रियाशील महिलाको योगदानलाई शेरचनले फोटोमार्फत प्रदर्शनी गरेकी थिईन् । पोखराको नेवार बस्ती नालामुख, गणेशटोलमा जन्मेकी शेरचन पोखराको माछापुच्छ्रेमार्गमा परिवारसँग बस्छिन्। जीवनसाथी सत्यनारायण शेरचन, छोरी समृद्धि र छोरा समिपको साथलेनै कलाकर्मलाइ निरन्तरता दिन हौसला मिलेको उनको भनाइ छ । परिवारको बलियो साथकै कारण उनले पोखरा र काठमाडौंमा लगातार चार वर्षसम्म एकल चित्रकला र दर्जनौपटक सामुहिक चित्रकला प्रदर्शनी गरिसकेकी छिन् ।