झण्डै २ करोड राजस्व,२७ हजार कारबाही
कास्कीमा करिब २७ हजार सवारी कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७७/७८ मा २६ हजार ९ सय ९५ सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा १ वर्षभित्र दुई तथा चारपाङ्ग्रे गरी सो संख्यामा सवारी कारबाहीमा परेका हुन् । गत आर्थिक वर्षको साउनमा सबैभन्दा बढी ३ हजार ४ सय र कम जेठमा २ सय ३१ सवारी कारबाहीमा परेका थिए । असारमा ७ सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको कार्यालयले जनाएको छ ।
अधिकांश महिना लकडाउन भए पनि सवारी कारबाहीको संख्यामा कमी नआएको ट्राफिक कार्यालयले जनाएको छ । यसबीचमा ४ हजार ५ सय ५५ ट्रक/टिपर, ३ हजार ९ सय ७७ बस, ७ हजार १ सय ७१ कार/जिप तथा १ हजार २ सय ८५ ट्याक्टर कारबाहीमा परेका थिए । सबैभन्दा बढी दुईपाङ्ग्रे सवारी समातिएका थिए । १ वर्षभित्र १ हजार ४ सवारी कारबाहीमा परेको कार्यालयले जनाएको छ । आव २०७६/७७ मा ५४ हजार ३ सय ५० सवारी कारबाहीमा परेका थिए । कारबाही पर्नेहरुमा जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गर्नेहरु सबैभन्दा बढी छन् । नियम पालना नगर्ने तथा सवारी चालक अनुमति (लाइसेन्स) लगायत कागजात नभएकालाई कार्यालय कारबाही गरेको हो । आव २०७७/७८ मा सवारी कारबाहीबाट १ करोड ९० लाख ५९ हजार ७ सय राजस्व संकलन भएको छ । सबैभन्दा बढी साउनमा २५ लाख २३ हजार राजस्व उठेको हो भने सबैभन्दा कम जेठमा १ लाख ६२ हजार संकलन भएको छ । अघिल्लो वर्ष २०७६/७७ मा ४ करोड १० लाख १७ हजार राजस्व संकलन गरेको थियो ।
बन्दाबन्दीबीच चालू आवको अन्तिम महिना असारमात्रै १ हजार २ सय १५ सवारी कारबाहीमा पर्दा ८४ हजार राजस्व उठेको थियो । जसमा ८ सय ४ चारपाङ्ग्रे र ४ सय ११ दुईपाङ्ग्रे गाडी कारबाहीमा परेका थिए ।