चुनाव प्रसारले काेलाहल
पोखरा
स्थानीय चुनाव आउन अब ९ दिन बाँकी छ । चुनाव नजिकिँदै जाँदा पोखरा महानगरपालिकामा राजनीतिक दलले निर्वाचन आचरसंहिता उल्लंघन गरेका छन् । दलहरुले चुनाव प्रचार गर्दा आचासंहिता विपरीतका गतिविधि गरेका हुन् ।
महानगरभित्र घरदैलो तथा कोणसभामा ठूला राजनीतिक दलले निर्वाचन आचरसंहिता विपरीत चर्को हर्न बजाउने, माइकिङ गर्ने, ठूलो टेपरेकर्ड घन्काउने गरेका छन् । यसले एकातिर ध्वनि प्रदूषण बढाएको छ भने आचारसंहिता पनि मिचिएको छ । शान्त रुपमा काम गर्न चाहने नागरिकलाई चुनावी प्रचारले दिक्क पारेको छ ।
होहल्लाले दिनभर टाउको दुखेको पोखराको चाउथे विपी मार्गका व्यवसायी दीपेश कोइरालाले बताए । ‘चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरुको गतिविधि बाक्लिदो छ । चुनाव प्रचारमा जुटेका राजनीतिक दलहरुले प्रयोग गरेको चर्काे नारा र चुनावी गीतले टाउको दुखिसक्यो । व्यवसायी बन्द गरेर गाउँ गएर बसौं जस्तो भएको छ,’ उनले भने, ‘यसमाथि मेरो पसलअघि पार्टी कार्यालय छ । बिहानै पसल खोलेदेखि बेलुका पसल बन्द गरेर घरफर्किदासम्म ठूलो आवाज घन्किन्छ । कोइरालाको जुत्ता। चप्पल व्यापारी हुन् ।
कोइराला जस्ता धेरै पेशा, व्यवसायमा संलग्नलाई चर्काे आवाजले अजित बनाएको छ । मंगलबार पृथ्वीचोकमा भेटिएका पैदल यात्री राज दाहालले पनि चुनावमा प्रयोग भएको नाराले आजित परेको सुनाए । भन्छन्, ‘जुन चोकमा पुगे पनि दलबल सहितको कार्यक्रम भइरहेको हुन्छ । म हैरान भइसकेँ । घरमा गयो घरतिरै नाराबाजी, जुलुस हुन्छ । दिउँसो अफिसको काममा लाग्यो, जतातत्रै चुनावी नारा गीत घन्किन्छन् ।’ आधुनिक युगमा प्रचारभन्दा एजेन्डाले चुनाव जित्ने हुँदा यस्तो प्रदूषण रोक्नुपर्ने उनको सुझाव छ ।
दलहरुले आचासंहिता विपरीत चुनावी प्रचार गर्दा सुन्दर, शान्त पोखरा बनाउने अभियानमा बाधा पुगेको छ । अझ दलहरु आफैंले चुनावी घोषणापत्रमा उल्लेख गरेको पोखरालाई शान्त राख्ने योजनालाई व्यंग्यसमेत गरेको छ । कान खाने आवाजमा घरदैलोमा जानुभन्दा कार्ययोजना सुनाएर जनताको मन जित्न नागरिक समाज कास्कीकी संयोजक ईन्द्रकमल मानन्धरले आग्रह गर्छिन् । ‘यो बेला धेरैको परीक्षा चलृको छ । यसले विद्यार्थीलाई प्रत्यक्ष मर्का पर्छ,’ उनले भनिन्, ‘राजनीतिक आफैंमा समाजसेवा भएकाले विकृति फैलाउने कुरा अन्त्य गर्नुपर्छ ।’ कन्या क्याम्पसकी प्रध्यापकसमेत रहेकी मानन्धरले चुनावी गतिविधिले विद्यार्थीलाई पढाउने वातावरण नै खल्बलिएको सुनाइन् ।
ठूला राजनीतिक दल एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राप्रपाले नै निर्वाचन आचासंहिता उल्लंघन गरिरहेका छन् । गाडीमा ठूला–ठूला प्रचारका सामग्री राख्ने, भित्तामा पर्चा टाँस्ने, माइकिङ र टेपरेकर्डर बजाउने, सार्वजनिक ठाउँमा पर्चा, पम्लेट राख्ने, पार्टीको भण्डासहितको टिसर्ट, टोपी लगाउनु आरसंहिता विपरीत हुन्छ । कतिपय कर्मचारीले त चुनावका बेला सरकारी गाडी प्रयोग गरी ¥याली र माइकिङसमेत गरेका छन् ।
राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले चुनावमा निर्वाचन आयोग ऐन २०७३ को दफा २२ मा कपडामा बनाइएको ३÷३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्हबाहेक कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख छ ।
आचारसंहिता मिच्नेलाई कारबाही
माइकमा चर्काे आवाज बजाउनेलाई मुख्य निर्वाचन निर्वाचन कार्यालयले कारबाहीका गरेको छ । कार्यालयले मंगलबारद दलहरुले प्रयोग गरेका माइक नियन्त्रणमा लिएको हो । अनुगमन अधिकृत नील पनेरुको नेतृत्वको टोलीले आचारसंहिता विपरीत चर्को आवाजमा बजाइएका १५ माइक नियन्त्रणमा लिएको छ । ‘कार्यालयले कांग्रेसका ६ वटा, राप्रपाका ४, एमालेका ३ र जसपाका २ माइक निर्णयमा लिएको छ,’ उनले भने ।
यो कारबाहीलाई संकेतिक रुपमा बुझन पनेरुले अनुरोध गरेका छन् । आइन्दा यस्तो नगर्ने सर्तमा माइक फिर्ता दिइने तर यही प्रवृत्ति दोहोर्याए कारबाही गरिने पनेरुले प्रष्ट पारे । ‘अहिले संकेतिक कारबाही गरेका हौं । अब आचारसंहिता पालना नगरे कडा कारबाहीको दायरामा ल्याउन बाध्य हुन्छौं,’ उनले भने ।
निर्वाचन कार्यालयमा आचारसंहिता उल्लंघनका विषयमा ४÷५ उजुरी परेका छन् । मतदातालाई प्रभावित पर्न एउटा दलले उपहार दिएको उजुरी आएको छ । अर्को, निर्वाचन अधिकृतलाई धमक्याएको उजुरी परेको छ । । अधिकृतलाई धम्क्याएको आरोपमा अटेरी अभियानका अशोक खड्का यति बेला प्रहरी नियन्त्रणमा छन् । पनेरुका अनुसार कार्यालयमा दलको टिर्सट प्रयोग भएको, माइक प्रयोग भएको जस्ता उजुरी छन् । ‘आचरसंहिता उल्लंघन भएको भनेर निवेदन कार्यालयलाई दिनुपर्यो । यसले हामीलाई थप सहयोग पुर्याउँछ,’ पनेरुले भने ।
निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गरे उम्मेदवारी नै खारेज गर्न सकिने निर्वाचन कार्यालयका गण्डकी प्रमुख हुमनाथ पराजुलीले बताए । ‘सामान्य खालको उल्लंघनमा सचेत गराउँछौं । गल्ती नदोहोर्याउन भन्छौं । गम्भीर उल्लंघन भए आयोगले नै स्पष्टिकरण सोध्छ । यदि गम्भीर उल्लंघन भए उम्मेदवारी रद्दसमेत हुन्छ,’ पराजुलीले भने । निर्वाचन कार्यालयले साना दललाई भेदभाव गरेको राप्रपा कास्की अध्यक्ष नारायण गुरुङको आरोप लगाए । यस्तो प्रचारप्रचार बन्द गरे खर्च कम हुने र चुनाव निष्पक्ष गर्नसमेत मद्दत पुग्ने उनको भनाइ छ ।