चीनबाट पोखरालाई २० लाखको स्वास्थ्य सामग्री
पोखरा । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ सहरले पोखरालाई २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसन समन्वयमा ल्याइएको सामग्री सोमबार परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले महानगर उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे । उपप्रमुख गुरुङले पोखरा महानगरले १३ वटा अन्तर्राष्ट्रिय सम्बन्धमध्ये ९ वटा चीनका विभिन्न सहरसँग भएको जानकारी दिइन् । २०७४ पुस २६ मा पोखरा महानगर र चीनको नानिङ सहरबीच भगिनी सम्बन्ध रहेको उल्लेख गर्दै प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले नानिङ सहरका मेयरलाई धन्यवाद पत्र पठाउँदै कोरोना सहजपछि पोखरा भम्रणको आमन्त्रण गरिने बताइन् ।
परिषद् अध्यक्ष भट्टराईले नानिङ सहर चीनको नमुना सहर भएको उल्लेख गर्दै भगिनी सम्बन्ध स्थापित सहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । महामारीको कठिन समयमा २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेर मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ गराएको उनको भनाइ थियो । उनका अनुसार स्वास्थ्य सामग्रीअन्तर्गत ५ अक्सिजन कन्सन्टेटर मसिन, मेडिकल मास्क २० हजार पिस, पिपिइ सेट ५ सय पिस, मेडिकल पञ्जा ५ हजार पिस गरी २० लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी दिए । रेवान उपाध्यक्ष नरेश भट्टराईले चीनका विभिन्न सहरसँग भएको भगिनी सम्बन्धले २ देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोराना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा चाइना ओभरसिज एसोसिएन अध्यक्ष चाङ र सचिव साङ सावो (सन्देश), पोखरा महानगरका विभिन्न वडाका वडा अध्यक्षको सहभागिता थियो ।