पोखरा । पर्यटन व्यवसायी र सरोकारवालाहरूले गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटनका उपयुक्त ठाउँ पहिचान गरेर प्रदेशलाई एक जिल्ला, एक साहसिक खेलकुद गन्तव्यको रुपमा विकास गर्नुपर्ने उनीहरुको भनाइ छ । गण्डकीका ११ वटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यलाई साहसिक खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याएर रोजगारी सिर्जना गर्नुपर्ने व्यवसायीको धारणा छ । प्रदेशलाई खेल पर्यटन हबका रुपमा विकास गरी दिगो खेलकुद पर्यटनमार्फत् विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्नेमा उनीहरुले जोड दिए । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले मुस्ताङमा हाई अल्टिच्यूड स्पोर्टस ट्रेनिङ सेन्टर निर्माण गर्ने योजना भए पनि प्रक्रिया लम्बिएकाले काम अघि बढ्न नसकेको बताए । उनले भने, ‘प्रकृतिले हामीलाई बग्रेल्ती रुपमा उपहारस्वरुप प्राकृतिक पूर्वाधार र सम्पदा दिएको छ तर, हामीले टुलुटुलु हेरेर बस्नेबाहेक केही गर्न सकेका छैनौं ।’ प्रकृतिबाट ठगिएका कयौं मुलुकले कृत्रिमरुपमा मनमोहक पूर्वाधार बनाएर पर्यटन प्रवर्द्धनमा फड्को मारेको चर्चा गर्दै उनले प्रकृतिको उपहार पाएर पनि हामीले त्यसको उपयोग गर्न नसकेको बताए । सांसद विष्टले मुस्ताङको ४ हजार ६४५ मिटरको उचाईमा गल्फ सेन्टर निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढाइने बताउँदै पोखरालाई केन्द्रविन्दु बनाएर प्रदेशभित्रका जिल्लामा साहसिक खेलकुद गन्तव्य विकास गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले गण्डकीका ११ जिल्लामा फरक फरक विशेषता रहेको र प्राकृतिक सम्पदासमेत त्यही अनुसारका भएकाले पर्यटनको विकासका लागि सरकारले योजनावद्ध रुपमा ध्यान दिनुपर्ने बताए ।
सांसद विष्टले मुस्ताङमा साहसिक साइक्लिङ र ¥याफ्टिङ लगायत साहसिक खेल पर्यटन विकास गर्न आवश्यक पहल गरिरहेको बताए । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले ओलम्पिक खेलसँग सम्बन्धित खेल गतिविधिकाबारे धेरै चर्चा हुने गरे पनि प्रदेशको समृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने साहसिक खेलकुदबारे ठोस रुपमा चर्चा नभएको बताए । उनले परिषदले प्रदेशलाई साहसिक खेलकुदको गन्तव्यको आधारका रुपमा स्थापित गर्न सरोकारवाला निकायबीच आवश्यक परामर्श गरिरहेको बताए । उनले भने, ‘गण्डकी प्रदेशमा साहसिक पर्यटनको विकास गर्न उपयुक्त पूर्वाधारको कमी छैन । यहाँ साहसिक पर्यटनको प्रशस्त सम्भावना छ । साहसिक पर्यटनको विकासबाट प्रदेशमा विकास र समृद्धि हासिल गर्न सक्ने सम्भावना छ ।’ नेपालले ओलम्पिक खेलसँग सम्बन्धित खेल गतिविधिलाई धेरै महत्व दिए पनि साहसिक खेललाई त्यति महत्व नदिएको भन्दै अब प्रदेशमा साहसिक खेल पर्यटनको विकास गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले प्रदेशको साहसिक र वाटर स्पोर्टसबारे अध्ययन अनुसन्धान गरी त्यसलाई मुर्तरुप दिन लागिएको उल्लेख गरे ।
सदस्यसचिव गुरुङले प्रदेशको मुख्य आधार नै पर्यटन भएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न तीनवटै तहका सरकारले विशेष महत्वका साथ विभिन्न ठाउँमा साहसिक खेल पर्यटनका लागि आवश्यक पूर्वाधार बनाएर काम गर्नुपर्ने बताए । ‘पर्यटन प्रवर्द्धन नै सरकारका मुख्य आधार भएकाले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न आवश्यक छ’, उनले भने, ‘प्रदेशमा बञ्जी, प्याराग्लाइडिङ, वाटर स्पोर्टस, ¥याफ्टिङ, साहसिक साइक्लिङ लगायतका खेलको विकासबाट पर्यटनका विकासमा सहयोग पुग्छ ।’