Welcome to the complete news site

गण्डकीमा संक्रमितको ग्राफ उकालो लाग्यो

0 15

पोखरा ।
गण्डकी प्रदेशमा कोभिड १९ का संक्रमित दिनदिनै बढ्दो छ । पछिल्लो २४ घन्टामा प्रदेशमा १ सय १४ जना संक्रमित थपिएका छन् । गत १९ गतेयताको प्रत्येक दिन संक्रमित बढ्ने क्रम रोकिएको छैन । सोमबार प्रदेशमा ७० जना कोरोना देखिएकोमा मंगलबार संक्रमितको संख्या ह्वातै बढेको हो । संक्रमित हुनेमा कास्की जिल्लाको सबैभन्दा बढी छन् । जिल्लामा मंगलबार एकैपटक ७५ जनामा कोभिड – १९ पोजेटिभ देखिएको हो । पर्वत, लमजुङ, मनाङ र मस्ताङमा कोराना भइरस संक्रमणदर भने शून्य छ ।

नवलपरासी पूर्वमा ९, स्याङ्जामा ८, बागलुङमा ५, तनहुँमा ७, गोरखामा ६, म्याग्दीमा ४ जनामा कोरोना भाइरस पुष्टि भएको हो । योसँगै प्रदेशभर संक्रमित हुनेको संख्या ८८ हजार ७ सय ६० जना पुगेको छ । जसमध्ये ८६ हजार ९ सय ७६ जना निको भइसकेका छन् । गण्डकी प्रदेशमा अहिले ३ सय ५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रदेशमा कोरोना भइरसबाट मृत्यु हुनेको संख्या १४ सय २८ जना पुगेको छ । मंगलबार पनि कोरोनाबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत जिल्ला जलजला गाउँपालिका १ की ७० वर्षीय महिला छन् । उनको सोमबार पोखरा स्वास्थय विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई पुस १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण रोक्न संयन्त्र गठन
जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको संयोजकत्वमा सोमबार बसेको बैठकले कास्की जिल्लामा कोभिड संक्रमित बिरामीका लागि विशेषज्ञ सेवा सहित उपचारको व्यवस्थापन तथा समन्वय गर्न स्वास्थ्य प्राविधिक सहित विशेषज्ञ संयन्त्र टोली गठन गरेको छ ।

प्रशासनले स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीको संयोजकत्वमा ४ सदस्यीय संयन्त्र गठन गरेको हो । जसमा संक्रामक तथा सरुवा रोग अस्पताल, गण्डकी प्रदेश पोखराका निर्देशक डाक्टर विकास गौचन, प्रतिष्ठानका कोभिड फोकल पर्सन डाक्टर शरदचन्द्र बराल र शिशुवा अस्पताल कोभिड उपचार केन्द्रका नर्सिङ अधिकृत प्रतिभा कोइराला छन् । संयन्त्रले कोभिड १९ को नयाँ भेरियन्ट (ओमिक्रोन सहितको) भेरियन्ट तीव्र गतिमा फैलिरहेको अवस्थामा जिल्लामा पर्न सक्ने प्रभाव रोकथाम नियन्त्रण गर्नेछ ।

कास्की प्रशासनले मेला महोत्सव लगायत भिडभाडजन्य कार्यक्रम स्थगन गर्न सबैलाई अनुरोध गरेको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको निर्णय पालना गर्न सार्वजनिक आह्वान छ । आमनागरिकको स्वास्थय सुरक्षा, नागरिकको दैनिक जिवनलाई सुचारु एवम सजगता प्रति सबैले आफ्नो तर्फबाट जिम्मेवारी पूरा गर्न राजनीतिक दल, सवार्वजनिक एवं अन्य संघ संस्थाहरु नागरिकसमाजलाई आमनागरिको स्वास्थ्य सुरक्षमा जोखिम बढ्ने गरी कनैपनि भेला सभा, सम्मेलन नगर्न अनुरोध गरेको हो ।

उता, नेपालभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पिसिआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ । यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ । काठमाडौंमा चल्ने सावरी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएका छन् । मास्क नलगाएकाले सार्वजनिक सवारी साधन चढ्न पाउने छैनन् । चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने आदेश जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ ।