पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप ६ सय १६ जना संक्रमित भएका छन् । तीमध्ये ३ सय २० पुरुष र २ सय ९६ महिला छन् । यो तथ्यांकले पछिल्ला दिनमा कोरोना संक्रमित संख्या घट्नुको सट्टा बढिरहँदा तेस्रो लहरको संकेत देखाउँछ । कास्कीमा ९२ पुरुष तथा ९९ महिला गरी कुल १ सय ९१ संक्रमित भेटिए । म्याग्दीका ३७, पर्वतका १३, गोरखाका ८३, लमजुङका १९ र तनहुँका २३ जना संक्रमित भएका हुन् । यसैगरी बागलुङका १ सय, स्याङ्जाका ७२ र नवलपुरका ७८ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७० हजार २ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ३५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६३ हजार २ सय ९१ पुगेको छ । नेपालमा ३ हजार ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० पिसिआर परीक्षणमा बिहीबार थप ३ हजार ७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ६ हजार ५ सय ३८ परीक्षणबाट ९ सय ३१ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १८ हजार ४ सय ८ परीक्षणमा ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ छ ।
थप ९ जनाको मृत्यु
गण्डकीमा थप ९ जना संक्रमितको मृत्यु भएको छ । नवलपुरका ३ सहित कास्कीका २, स्याङ्जा, मुस्ताङ, बागलुङ र गोरखाका १/१ जनाको ज्यान गएको हो । नवलपुर देवचुली नगरपालिका ९ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको हो । नवलपुर कावासोती नगरपालिका १४ का ७४ वर्षीय कोरोना संक्रमित पुरूषको मध्यविन्दु अस्पतालमा उपचारको निधन भएको छ । नवलपुरको कावासोती नगरपालिका १४ का ५२ वर्षीय पुरूषको चितवन मेडिकल कलेजमा उपचार क्रममा ज्यान गएको हो । पोखरा ८ का ५९ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ भने पोखरा १७ का ६० वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा निधन भयो । यसैगरी स्याङ्जा वालिङ नगरपालिका १० की ८९ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मुस्ताङ थासाङ गाउँपालिका १ का ८२ वर्षीय पुरूषको संक्रामक तथा सरूवा रोग अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको छ भने बागलुङ नगरपालिका ९ का ४१ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा ज्यान गयो । उता, गोरखा पालुङटार नगरपालिका ७ की ५८ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १ सय १८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३७ सँगै मृत्यु हुनेको कुल संख्या ९ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।
Prev Post