गण्डकीका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङ को हुन् ?
पोखरा । गण्डकी प्रदेशमा सरकार परिवर्तनसँगै प्रद्रेश प्रमुखको हेरफेर भएको छ । सरकारले गण्डकी प्रदेश प्रमुखकोरुपमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेको हो ।
को हुन् पृथ्वीमान गुरुङ ?
विसं २००६ माघ २५ गते कास्कीको घलेल गाउँमा जन्मिएका गुरुङले प्राथमिक शिक्षा त्यहीँको घलेल गाउँमा अध्ययन गरे । विसं २०१८ मा चितवन झरेका गुरुङले विसं २०२४ मा जुद्धोदय हाइस्कूल काठमाडौँबाट एसएलसी उत्तीर्ण गरे । उनले अमृत साइन्स कलेजबाट आइएस्सी, त्रिचन्द्र कलेजबाट बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गरे ।
विसं २०३४ मा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापकमा नियुक्त भएका उनी त्यसको एक वर्षपछि राजनीतिक मुद्दा लागेर बर्खास्तमा परे । विसं २०३६ को जनमतसङ्ग्रहमा कास्कीको निर्वाचनमा सक्रियरूपमा लागेका गुरुङ त्यसपछिका केही वर्ष काठमाडौँमा गैरसरकारी संस्थामा काम गरे ।
विसं २०४२ मा चितवन फर्किएका उनी नेपाली कांग्रेस चितवनको सहसचिवमा नियुक्त भए । विसं २०४६ को जनआन्दोलनमा सङ्घर्ष समितिका पाँच सदस्यमध्ये एक गुरुङ विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट शेरचनसँगै चुनावी प्रतिस्पर्धा गरे । निर्वाचनमा पराजयपछि विसं २०४९ मा उनी सुकुम्बासी आयोगको केन्द्रीय सदस्य थिए । त्यतिबेला उनी नवलपरासीको इन्चार्ज थिए ।
नेपाली कांग्रेसको विभाजनसँगै उनी विसं २०६१ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) चितवनको सभापति बने । पार्टी एकता भएपछि सहसभापति बनेका गुरुङ त्यसयता कांग्रेस चितवनको सल्लाहकारका रूपमा क्रियाशील छन् ।