‘गंगूबाई काठियावाडी’ को सुटिङ सकिन लाग्यो २ वर्ष
अभिनेत्री आलिया भट्टले फिल्म ‘गंगूबाई काठियावाडी’ को छायांकन पूरा गरेकी छन् । बलिउडका भेट्रान निर्देशक सञ्जय लीला भन्साली निर्देशित फिल्मको आइतवार सुटिङ प्याकअप भएको हो । ८ डिसेम्बर २०१९ बाट फिल्मको छायांकन सुरु भए पनि कोरोना महामारीका कारण लामो समय छायांकन रोकिएको थियो । अन्ततः २ वर्षपछि फिल्मको सम्पूर्ण छायांकन सकिएको छ ।
आलियाले फिल्ममा काम गर्दा आफूले जीवन बदल्ने अनुभव बटुलेको बताएकी छन् । उनले निर्देशक सञ्जय लीला भन्सालीसँग काम गर्दाको अनुभव बाँड्दै इन्स्टाग्राममा लेखेकी छन्, ‘सरको निर्देशनमा काम गर्नु मेरो पूरै जीवनको सपना थियो । तर, मलाई लाग्दैन कि कुनै पनि चीजले मलाई त्यो यात्राका लागि तयार गरेको थियो, जसका लागि मैले दुईदेखि काम गरिरहेको थिएँ ।’
फिल्ममा आलियासँगै अभिनेता अजय देवगनको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । भन्साली र देवगनले करीब २२ वर्षपछि एकसाथ काम गरेका हुन् । ‘गंगूबाई काठियावाडी’ को कहानी कामाठीपुरामा एक वेश्यालय चलाउने गंगूबाई कोठेवालीको जीवनमा आधारित छ । मुम्बईका हुसेन जैदीद्वारा लिखित ‘माफिया क्विन्स’ किताबको एक अध्यायलाई फिल्ममा उतारिएको छ ।