काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन्। जसमध्ये ५४ लाख २४ हजार ८३६ जना अर्थात १८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ४६ लाख ६७ हजार ३२८ जना अर्थात १५ प्रतिशतले पूर्ण खोप लगाएका छन्। नेपालमा कोभिशिल्ड, भेरोसेल, जोनसोन एण्ड जोनसोन र एष्ट्राजेनेका खोप दिने क्रम जारी छ । नेपालले यी खोप अनुदान सहयोग र खरिदमार्फत प्राप्त गरेको हो। अहिले झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको छ। गएको माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो । विश्वमा ५ अर्बभन्दा धेरैले कोरोना खोप लगाइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हालसम्म देशभर ६ लाख ६८ हजार ७५१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ९ हजार ५९२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६ लाख ३३ हजार ३३२ जना संक्रमित निको भएका छन् ।