Welcome to the complete news site

कोभिड–१९ सँगै पोष्ट कोभिडका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो

0 7

काठमाडौं । काभ्रे पाँचखालकी ४६ वर्षीया महिला कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भइन् । गम्भीर समस्या देखिएपछि आईसीयूमै राखेर उनको उपचार गरियो । अन्ततः उनी कोरोनालाई जितेर घर फर्किन् । तर, कोभिड—१९ मुक्त भएर घर फर्केको एक महिनापछि सास फर्ने गाह्रो हुने, घ्यारघ्यार हुने, एकोहोरो खोकी लागेर कमजोर महसुस भएपछि उनी पुनः उपचारका लागि काठमाडौं आइपुगिन् ।

उनलाई नन्–कोभिड उपचार कक्षमा राखेर उपचार सुरु गरियो । श्वासप्रश्वास गाह्रो भएकाले अक्सिजनसहित एन्टिबायोटिक औषधि दिएर चिकित्सकको निगरानीमा राखियो । अन्ततः पोष्ट कोभिडकै कारण उनको मृत्यु भयो ।

उता रसुवा कालिकास्थानकी टीका पौडेल पनि त्रिवि शिक्षण अस्पतालमा ४१ दिनसम्मको बसाइपछि कोरोना मुक्त भएर खुसी हुँदै घर फर्किन् । तर, घरमा गएको केही समयपछि श्वासप्रश्वासमा समस्या आयो । पुनः उनलाई उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइयो । तर अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको थियो ।

अर्घाखाँचीकी ५४ वर्षीय महिला पनि कोरोना मुक्त भएर घर फर्किएको एक महिनामा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि फेरि काठमाडौं आइन् । एम्बुलेन्समार्फत काठमाडौं आएकी उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै उपचाररत छिन् ।

काठमाडौं कालोपुलका एक परिवारका सबै सदस्य कोरोना संक्रमित भए । अन्य सदस्यको तुलनामा ४१ वर्षीय बुहारी निरा क्षेत्रीलाई गाह्रो भयो । तर होम आइसोलेसनमै बसेर उनी कोरोनामुक्त भइन् । कोरोना मुक्त भएको दुई सातासम्म शरीर कमजोर भएको महसुस गरेकी उनी त्यसपछि भने निन्द्रा नलाग्ने, डर लाग्ने, झसङ्ग हुने, छाती भारी हुने, शरीर दुख्ने भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि पुगिन् । आफूलाई डाक्टरहरुले पोष्ट कोभिड भएको भन्दै आवश्यक परामर्श दिएर घर पठाएको उनले सुनाइन् ।

यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । पोष्ट कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या गणना गरे पनि पोष्ट कोभिडकै कारण कतिको मृत्यु भयो भन्नेबारे अनभिज्ञ छ ।(ratopati)