विश्वका झन्डै २ सय देशहरूबीच विश्वको जलवायु सङ्कटलाई नियन्त्रण गर्ने सहमति बनेको छ । तर, कोइलाको प्रयोग नियन्त्रण गर्ने विषयमा भारतले कडा अडान लिएपछि अन्तिम दिन संशोधनसहित सम्झौता पारित भएको हो ।
यसअघि धनी राष्ट्रमा २०३० र विपन्न राष्ट्रबाट २०४० सम्म कोइलाको प्रयोग अन्त्य गर्ने गरी १ सय ९० देशहरूबीच सहमति बनेको थियो । यहाँका बाबजुद भारत, अस्ट्रेलिया, चीनलगायत देशहरू कोइलाको प्रयोग नियन्त्रण गर्ने विषयमा सकारात्मक हुन सकेका थिएनन् । ‘यदि विकासशील देशले अझै धेरै विकासका एजेन्डाहरू तय गर्नु छ र गरिबी हटाउनु छ भने उनीहरूले कसरी कोइलाको प्रयोग अन्त्य गर्न सक्छन् ?’ भारतका वातावरण मन्त्री भूपेन्द्रर यादवले सोधे । अन्त्यमा, सबै देशहरू कोइलाको प्रयोग अन्त्य नभएर न्यूनीकरण गर्ने विषयमा सहमत भए । कोप२६ का अध्यक्ष अलोक शर्माले भने, ‘सम्मेलन जसरी सकियो, त्यसमा म गहिरो माफी माग्छु ।’
कोइलालाई हरित गृह ग्यासका लागि अति खराब इन्धनका रूपमा लिइएको छ । एक्सन एडका पोलिसी डाइरेक्टर लार्स कोचले कोइलाको प्रयोग न्यूनीकरण गर्ने विषय उल्लेख भए पनि ग्यास र तेलका विषयमा कुनै प्रतिबद्धता नआउनु दुःखद रहेको बताए । ‘तेल र ग्यास उत्पादन गर्नका लागि एक शताब्दीभन्दा लामो समयदेखि विश्वलाई प्रदूषित बनाइरहेका धनी देशहरूलाई यो सम्मेलनले फ्री पास उपलब्ध गराएको छ,’ उनले भने ।
सम्झौताले तत्कालीन रूपमा उत्सर्जन कम गर्न जोड दिएको छ । त्यसै गरी विकासशील देशहरूलाई दिइने सहयोग रकम पनि बढाउने प्रतिबद्धता जनाएको छ । तर, वैश्विक तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने गरी पर्याप्त प्रतिबद्धता छैन ।