के हो क्लब हाउस ? कसरी खोल्ने ?
बिश्वभर सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालमध्ये पछिल्लो समय नेपालमा क्लब हाउस एप चर्चित बन्दै गएको छ । धेरै नेपाली प्रयोगकर्ता यो सामाजिक सञ्जालसँग जोडिएका छन् । यससञ्जालमा प्रयोगकर्ता विभिन्न विषयमा आ-आफ्नै छुट्टाछुट्टै अनलाइन मिटिङमा ‘भ्वाइस’को माध्यमबाट जोडिन सक्छन् । यसमा प्रयोगकर्ताले आफूलाई मन लागेको समसामयिक विषयमा सुन्ने तथा अन्तक्रियामा सहभागी भएर मनोरञ्जन एवं ज्ञान लिन सक्छन् ।
के हो क्लब हाउस ?
क्लब हाउस सामाजिक सञ्जाल एप हो । यो सामाजिक सञ्जाल चलाउन त्यसमा पहिला सदस्य भइसकेका प्रयोगकर्ताले ‘इन्भाइट’ गर्नुपर्छ अर्थात् यो सामाजिक सञ्जालमा बोलाउनुपर्छ । अन्यथा यसमा सोझै प्रवेश गर्न पाइँदैन ।
यसबाट प्रयोगकर्ताले बोलेर आफ्नो आवाजबाट संवाद, बहस र व्यवसायिक विषयमा कुराकानी गर्न र जानकारी लिन सक्छन् । यस एपले संवाद तथा अन्तक्रियामा आवाजमात्र सपोर्ट गर्छ । यो एपमा फोटो वा भिडियोको नाममा प्रोफाइल तस्वीर मात्र हुन्छ ।
यो एप कोरोना भाइरस (कोभिड-१९) को महामारी सुरु भएपछि बजारमा आएको हो । महामारीका कारण मानिसहरू घरमै थुनिन बाध्य भएको अवस्थामा उनीहरू संवाद तथा अन्तक्रियाको लागि नयाँ प्रविधिको खोजीमा थिए । त्यतिबेला संवादका माध्यमहरूको रुपमा जुम, गुगल मिटहरू लोकप्रिय थिए । कोरोना महामारीकै बीच क्लब हाउसले पनि चर्चा पायो ।
यो सामाजिक सञ्जाललाई पहिलोपटक सन् २०२० मार्चमा अल्फा एक्सप्लोरोसन कम्पनीका पल डेभिसन र रोहन सेथले आईओएस भर्सनमा यो एप सार्वजनिक गरेका थिए । आईओएस भर्सनमा मात्र सीमित गरिएकाले त्यतिबेला प्रयोगकर्ताको संख्या बढ्न सकेन ।
प्रयोगकर्तामा खासै वृद्धि हुन नसकेपछि यो एपलाई एन्ड्रोइड भर्सनमा पनि ल्याइयो । त्यसपछि भने यसका प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भयो ।
सन् २०२० को डिसेम्बरसम्ममा क्लब हाउसका प्रयोगकर्ता ६ लाख पुगेका थिए । यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पल डेभिसनका अनुसार जनवरी २०२१ सम्ममा क्लब हाउसका साप्ताहिक प्रयोगकर्ता २० लाखभन्दा धेरै छन् ।
क्लब हाउसको टोलीले प्रयोगकर्ताको संख्यामा देखिएको वृद्धिलाई व्यवस्थापन तथा त्यसलाई धान्नसक्ने बनाउनका लागि इन्भाइट गरेर मात्र नयाँ प्रयोगकर्ता आउनसक्ने गरी एपको विकास गरेको हो ।
कसरी खोल्ने क्लब हाउस ?
क्लब हाउसको प्रयोगकर्ता बन्न यो एप डाउनलोड गरेपछि सो एप प्रयोगको लागि भने यसअघि नै सो एप प्रयोग गर्ने मानिसले इन्भाइट गर्नुपर्छ ।
इन्भाइट गरेपछि मोबाइल नम्बरमा आएको कोड वा लिंक राखेर मात्रै यो एप चलाउन पाइन्छ । तर एकजना प्रयोगकर्ताले ५ जनालाई भन्दा धेरैलाई निःशुल्क इन्भाइट गर्न मिल्दैन । उक्त लिमिट कटेपछि पनि इन्भाइट गर्न चाहेमा तोकेको शुल्क बुझाउनुपर्छ ।