ओलीको सूचीमा नभएका सिंह, प्याकुरेल र सरकार बने सर्वसम्मत केन्द्रीय सदस्य
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै आइतबार पेस गरेको केन्द्रीय सदस्यको सूचीमा नभएका तीन जना सर्वसम्मत रूपमा केन्द्रीय सदस्य चुनिएका छन्।
भूगोलतर्फ प्रदेश २ को खुलामा अरविन्द सिंह र सुमन प्याकुरेल सर्वसम्मत भएका हुन्। ओलीले प्रस्तुत गरेको सूचीमा रहेका प्रभु हजाराले मधेसी कोटामा उम्मेदवारी दिएका छन् भने मोहम्मद समिरले मुस्लिम कोटामा उम्मेदवारी हालेका छन्।
उनीहरू अर्कै समूहमा गएपछि सिंह र प्याकुरेलले प्रदेश २ को खुला कोटामा उम्मेदवारी दिएका हुन्। अब उनीहरूसँगै रामदयाल मण्डल, प्रभु साह, राजकुमार लेखी र लीलाराज श्रेष्ठ प्रदेश २ खुलाबाट केन्द्रीय सदस्य बनेका छन्।
प्रदेश २ को महिला कोटामै ओलीले नराखेकी रञ्जना सरकार पनि सर्वसम्मत भएकी छन्। ओलीले प्रदेश २ को महिला कोटामा कल्पना कटुवाल, रेखा झा र ज्वाला साहको नाम राखेका थिए। ज्वाला साहको नाम जनजाति महिला समूहमा पनि रहेकाले उनले प्रदेश २ को महिला कोटामा उम्मेदवारी दिइनन्। उनको ठाउँमा उम्मेदवारी दिएकी सरकार पनि सर्वसम्मत भएकी छन्।
एमालेले हरेक भूगोलअन्तर्गत हरेक प्रदेशबाट ६ जना खुला र ३ जना महिला केन्द्रीय सदस्य बन्ने व्यवस्था गरेको छ।