Welcome to the complete news site

आम्दानीकै आधारमा ऋणमा पहुँच युवाहरूलाई

0 46

विकसित देशमा थोरै आम्दानी गर्नेहरूको पनि क्रेडिटमा पहुँच हुन्छ । निश्चित उमेर पार गरेपछि आम्दानीअनुसार क्रेडिट सुविधा लिन सकिन्छ । तर नेपालमा थोरै कमाइ हुनेहरूलाई क्रेडिट सुविधा ‘आकाशको फल आँखा तरी मर’ जस्तै छ । पछिल्लो समय फाइनान्सियल टेक्नोलोजीमा काम गरिरहेको संस्था एफवान सफ्टले सानै कमाइ भए पनि क्रेडिटमा पहुँच विस्तार गर्नकै लागि भनेर ‘फोन लोन’ (मोबाइलबाटै कर्जा लिन मिल्ने) प्रविधिको विकास गरेको छ । जसमा बैङ्कहरूलाई अभ्यस्त गराउँदै ग्राहकलाई फोन लोनका लागि प्रेरित गरिरहेको छ । युवाहरूलाई लक्षित गरेर विकास गरिएको फोन लोन एक प्रकारको डिजिटल (मोबाइल) प्रविधि हो । यसलाई बैङ्कहरूले आफ्नो योजनामा सामेल गराएका छन् । युवाहरूलाई क्रेडिटमा पहुँच विस्तार गरी अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले एफवान सफ्टले यस्तो प्रविधिको विकास गरेको जनाएको छ । राष्ट्र बैङ्कले डिजिटल (विद्युतीय) माध्यमबाट कारोबार गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएसँगै यतिबेला बैङ्क तथा वित्तीय संस्थाहरूले हरेक कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गरिरहेका छन् । हरेक कारोबार डिजिटल माध्यमबाट भए पनि कर्जा (लोन)का लागि कागजातको चाङ बोकी बैङ्क धाउनुपर्ने र औँठा छाप नै लगाउनुपर्ने बाध्यता भने अझै हटेको छैन । अझ मुलुकमा कोरोना भाइरसको महामारी फैलिएसँगै त यी कार्यले ग्राहक तथा बैङ्कका कर्मचारीलाई झनै जोखिम बढाइदिएको छ । यस्ता असहजता न्यूनीकरणका लागि एफवान सफ्ट इन्टरनेसनलले कर्जा सुविधालाई पनि डिजिटल माध्यमबाटै गर्ने कार्यको थालनी गरेको हो । एफवान सफ्टले ल्याएको यो सुविधालाई यतिबेला बैङ्कहरूले धमाधम सञ्चालन गरिरहेका छन् । ठूला कर्जामा मात्रै केन्द्रित हुने बैङ्कहरू यतिबेला साना कर्जा(लोन) मा केन्द्रित हुन थालेका छन् । सरल र सहज कर्जाको नाममा साना कर्जा दिन बैङ्कहरूमा प्रतिस्पर्धा नै देखिन थालेको छ । यतिबेला बैङ्कहरूले एफवान सफ्टसँगको सहकार्यमा ‘फोन लोन’ सेवालाई प्रोत्साहन गरिरहेका छन् । एफवान सफ्टले गत वर्षको निषेधाज्ञाको समयमा ल्याएको थियो फोन लोन सेवा । यो सेवामा बैङ्कहरूलाई आबद्ध गराउन एफवान सफ्टलाई निकै चुनौती थियो । कर्जा जस्तो कुरा पनि मोबाइलबाट ?तर कारोबारका आधारमा बैङ्कहरूले आफ्ना ग्राहकलाई विश्वास गर्दै कर्जा स्वीकृत गर्न सक्ने भएकाले र बैङ्कको सिस्टमले नै कारोबारको आधारमा ग्राहकलाई कर्जा दिन योग्य भनेर प्रमाणित गरिदिने भएकाले पनि यो सेवा लोकप्रिय बन्दै गएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा बताउँछन् । यो कर्जा बिना झन्झट,बिना धितो,बैङ्कमा उपस्थित नभई,बिना कुनै कागजात तत्कालै फोनमार्फत छिटो र सहज तरिकाले लिन सकिन्छ । तर फोन लोनका लागि कुनै पनि सङ्घ संस्था तथा रोजगारदाता कम्पनीहरूले बैङ्कहरूमा आफ्ना कर्मचारीको तलबी खाता खोलेको हुनुपर्छ । तलब खाता भएका कर्मचारीले मात्र लोनका लागि आवेदन दिन पाउनेछन् । यो व्यवस्था कर्मचारीको हकमा मात्र लागू गर्नुको पछाडिको कारण बैङ्कमा नियमित कारोबार देखिनुपर्ने प्रावधान नै हो । नियमित कारोबार नहुने ग्राहकसँग बैङ्कले विश्वास गर्ने आधार नहुने भएकाले यस्तो व्यवस्था गरिएको एफवान सफ्टले जनाएको छ । तर अहिले केही बैङ्कहरूले नियमित कारोबार गर्ने अन्य ग्राहकलाई पनि यो सुविधा प्रदान गर्दै जाने बताएका छन् । तलबी खाता भएको बैङ्कबाट ‘फोन लोन’ लिनका लागि अन्य बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर खराब कर्जा नभएको र कालोसूचीमा नपरेको हुनुपर्ने प्रावधान बैङ्कहरूले राखेका छन् । बैङ्कहरूले ग्राहकको खाता सुरु भएको समयावधि,खातामा पैसा जम्मा हुने र बचत हुने प्रवृत्तिको अध्ययन विश्लेषण गरेर मात्रै बिना धितो लोन स्वीकृत गर्ने गरेका छन् । यो कर्जाका लागि ग्राहकले आफ्नो खाता भएको बैङ्कको मोबाइल एप (स्मार्ट बैङ्किङ) आफ्नो मोबाइलमा इन्स्टल गर्नुपर्छ । उक्त एपमा बैङ्कले कर्जाका लागि न्यूनतम मापदण्ड पूरा भएको छ भने कर्जाका लागि आवेदन दिन सक्ने बारे नोटिफिकेसन पठाएको हुन्छ,जसको आधारमा कर्जाका लागि आवेदन दिन सकिन्छ । आवेदन दिएको केही समयमै बैङ्कले प्रक्रिया पूरा गरी आवेदन रकम (२ लाख सम्म) खातामा जम्मा गरिदिन्छ ।