आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसः नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैँ छ ।
श्रमिकको हित र अधिकार रक्षालाई जोड दिएर आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदैछ । आप्रवासी श्रमिक दिवसका अवसरमा नेपालमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् । नेपालमा ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित यसवर्षको दिवस मनाइँदैछ ।
रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ । आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरू माथि हुन सक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तीनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो ।
आप्रवासीहरू जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ ।
नेपाली आप्रवासीहरूले आफू र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई सङ्घर्ष गर्दै आएका छन् । विशेष गरी नेपालीहरूको गन्तव्य खाडी मुलुकहरू साउदी अरेबिया , कतार , मलेसिया, दक्षिण कोरिया, पूर्वी अमेरिका र युरोप सहित विश्वका विभिन्न मुलुकहरु रहेका छन् ।
नेपालमा बर्सेनि आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रूपमा घट्न सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरि आप्रवासी दिवस मनाइए पनि कामदारहरूले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाइ बनाइदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरूबाट गुज्रिँदै आएका छन् ।