Welcome to the complete news site

आकाशे पुल सञ्चालनमा पोखराको

0 30

पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो । कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत रु ५० लाख विनियोजन गरेसँगै सिर्जनाचोकमा आकाशे पुल निर्माणकार्य शुरु गरिएको थियो ।महानगरपालिकाको रु दुई करोड १५ लाखको लागतमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको इञ्जिनीयर राजु रेग्मीले जानकारी दिनुभयो । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको सो आकाशे पुल पहिलो भएको जनाउँदै उहाँले भन्नुभयो, “पुलको रङरोगन र सिसाको छानो राख्नेबाहेक सम्पूर्ण निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको हो ।” इञ्जिनीयर रेग्मीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारैतर्फबाट ओर्लन मिल्छ । आकासे पुलका लागि जमीनमुनि सिमेन्ट र जमीनमाथिका सबै संरचना निर्माणमा स्टिल प्रयोग गरिएको छ । महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि केएम जेबिएनएस पोखरा जेबीसँग सम्झौता भएको उक्त पुलको निर्माणकार्य २०७७ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस सङ्क्रमणका कारण निर्माणकार्य ढिला भई एक वर्षपछि सम्पन्न भएको हो । पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालका अनुसार सबैको चासो र चर्चामा रहेको उक्त आकाशे पुलमा दिनभरी पैदलयात्रु एवं साँझपख सर्वसाधारणको घुइँचो नै लाग्ने गरेको छ । पोखरा–बगलुङ सडकको प्रवेशद्वारका रुपमा रहेको उक्त आकाशे पुलमा विशेष गरी साँझपख दृष्यावलोकन एवं सेल्फि खिच्नेको भिड देखिने गरेको उहाँको भनाइ छ । उक्त पुलमा यतिखेर नेपालकै पर्यटकीय राजधानी पोखराका मुख्य बजारका चोककमा दिनानुदिन जनसङ्ख्यासँगै सवारीसाधनको चापका कारण व्यस्त पृथ्वीचोक, महेन्द्रपुल, विरौटाचोक, राष्ट्बैंकचोक, अमरसिहंचोक, सभागृहचोकलगायतका विभिन्न स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक अम्रित बस्नेतका अनुसार पोखराका मुख्यचोकमा आकाशे पुल निर्माणले सवारी दुर्घटनामा केही हदसम्म भए पनि कमी हुने विश्वास व्यक्त गर्नुभयो ।