काठमाडौँ । बाइडेन प्रशासनले अमेरिकाका विभिन्न प्रकारका भिसा र ग्रिनकार्डका सन्दर्भमा आगामी ६ महिनाका लागि आधा दर्जनभन्दा धेरै योजनाहरु सार्वजनिक गरेको छ। अर्धबार्षिक योजना अन्तरगत यी एजेण्डाहरु सार्वजनिक गरिएका हुन् भने यी एजेण्डाहरु फेडरल रजिष्टरमा प्रकाशित हुँदै जाने जनाइएको छ।
कामदार भिसामा आधुनिकिकरण
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कामदार भिसा एचवान बीमा आधुनिकिरणको योजना अगाडि ल्याएको छ। नयाँ नियमले रोजगारदाता र कामदारको सम्बन्धलाई पुन परिभाषित गर्नेछ। त्यस्तै जालसाजी पत्ता लगाउने र कार्यस्थलको भ्रमण गर्ने सन्दर्भमा नीति नियम स्थापित गर्नेछ।
एचवान बी भिसामा स्टाटस परिवर्तन गर्न चाहेका विद्यार्थी भिसा एफ वानमा रहेकाहरुका लागि क्याप ग्याप सुविधाबारे स्पष्ट पार्नेछ भने एचवानबी भिसामा रहेका कामदारले नयाँ कार्यस्थल परिवर्तन गरेको खण्डमा सुचित गर्ने प्रकृयालाई थप व्यवस्थीत गर्नेछ। यो नियम आगामी डिसेम्बरमा प्रकाशित गर्ने योजना रहेको छ। शीघ्र प्रकृयामा विस्तार रोजगारमा आधारित ग्रिनकार्ड आवेदनका सन्दर्भमा शीघ्र प्रकृयालाई थप विस्तार गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको योजना रहेको छ।
रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड ईबी वानको लागि दिइने आवेदन आई १४०, वर्क परमिटका लागि दिइने आवेदन आई ७६५, एचवान बी र एलवान भिसा लगायतका भिसा वाहकको आश्रितका रुपमा स्टाटस परिवर्तन गर्न दिइने आई ५३९ आवेदन लगायतका सन्दर्भमा शीघ्र प्रकृया अनुरोध गर्न पाइनेगरी यो नियमलाई विस्तार गरिने भएको छ। यो नियम आगामी सेप्टेम्बरमा प्रकाशित गर्ने योजना रहेको छ।
पब्लिक चार्जबारे नयाँ नियम
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१९ को अक्टोबरमा प्रकाशित पब्लिक चार्जको नियमका सन्दर्भमा सर्वसाधारणबाट प्रतिकृयाको आव्हान गर्ने भएको छ। कमेन्ट अवधि आगामी सेप्टेम्बरमा नै खुला गरिने जनाइएको छ। ट्रम्प प्रशासनले ल्याएको पब्लिक चार्जको नियम अहिले कार्यान्वयनमा छैन। बाइडेन प्रशासनले नयाँ नियम ल्याउने भएको छ। तर यो ट्रम्पको पालामा ल्याइएको भन्दा निकै भिन्न हुने अपेक्षा गरिएको छ।