अमेरिकी फिल्म फेस्टिभलमा छानिएको नेपाली सिनेमा
नेपालमा लागुपदार्थ दुर्व्यसनबारे हरेक दिनजस्तै समाचार आउँछन्। यो समस्याले बेलाबखत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत महत्व पाउने गरेको छ।
सिनेमा निर्देशनका लागि सम्भावित कथाबारे सोचिरहेका अनुष्क राैनियारले केही वर्षअघि ‘अलजजिरा’ मा यस्तै सामग्री पढे। अनुष्कका अनुसार ‘साउथ एसियन ककटेल’ बारे चर्चा गरिएको त्यो लेखपछि उनी लागुपदार्थ दुर्व्यसनमा लागेका निकट र परका मानिसहरूलाई नियाल्न थाले।
यस विषयमा उनी जति घोत्लिए, उति उनीहरूको जीवनशैली, घरपरिवार र सामाजिक अवस्थाबारे सोच्न बाध्य बनायो। लागुपदार्थको कुलतमा युवा समूह बढी हुने भएकोले उनले युवा पात्रलाई केन्द्रमा राखेर फिल्म बनाए, ‘केटिएम कक-टेल’।
कथा यस्तो छ
काठमाडौं सहरका धेरै मानिस सुइ घोचेर ‘आनन्द’ लुट्छन्। दुई वा दुईभन्दा बढी रसायन मिसाएको कक-टेलबाट प्राप्त हुने मजा अवैध भएकाले उनीहरू यो काम लुकिछिपी गर्छन्। कक-टेलको आनन्द केही घन्टाका मात्र लागि हुन्छ। अम्मलमा फसिसकेकालाई कक-टेल डोज नियमित चाहिन्छ। राजेश तिनै ग्राहकलाई कक-टेल पुर्याउने काम गर्छन्। उनी आफैं पनि कक-टेल प्रयोगकर्ता हुन्।
फिल्मको कथा राजेशको वरिपरि घुम्छ जसमा जम्मा चार दिनको घटना समेटिएको छ। कक-टेल बेचे पनि राजेश आफ्नो काममा गर्व गर्ने युवा हुन्। आमाको निधनपछि पनि राजेशका बुवाले उनी र उनका भाइबारे गम्भीर भएर सोच्दैनन्। राजेशसँगै उनका बुबा पनि कक-टेल प्रयोग गर्छन्।
आफू र बुवा गलत बाटो लागे पनि राजेश भाइलाई कुलतबाट टाढा राख्न चाहन्छन्। तर राजेशका भाइले एक जना युवतीमाथि आक्रमण गरेपछि भाइको भलो चिताउने उनी भाइकै कारण नसोचेको समस्यामा फस्छन्। राजेशको भाइलाई एकातिर प्रहरी र अर्कोतिर ती युवतीका दाइको खतरा हुन्छ। भाइलाई बचाउने चक्करमा राजेश पनि यसमा मुछिन्छन्।
यसपछि राजेशले भाइ र आफूलाई यो समस्याबाट निकाल्ने प्रयासको घटनाक्रमलाई फिल्ममा रोचक शैलीमा प्रस्तुत गरिएको छ।

निर्देशक अनुष्क र विश्वनाथ पराजुलीको कथामा बनेको ”केटिएम कक-टेल’ मा काम गर्ने धेरै कलाकारको अनुहारजस्तै यो फिल्मको प्रस्तुति ‘फ्रेस’ छ। मुख्य पात्र राजेशको भूमिकामा अभिनेता अवोन राज उप्रेतीले पूरै फिल्म धान्ने अभिनय गरेका छन्। घरी थ्रिलर त घरी डार्क कमेडीजस्तो लाग्ने यो फिल्मले दर्शकलाई काठमाडौंका साँघुरा गल्ली र कोठाहरूमा घुमाउँछ।
पात्रका असामान्य मनोदशा र क्रियाकलापसँगै नसोचेका घटनाक्रमको साक्षी बनाउँछ। रङ संयोजन र प्रकाशको प्रयोग पनि पात्रहरू बाँचेको परिवेश र मनोदशा देखाउने खालको छ। रविन आचार्यको सिनेमाटोग्राफी र उत्तम न्यौपानेको साउन्ड डिजाइन विशेष लाग्छ।
काठमाडौं सहरभित्र गोप्य रूपमा हुने लागुपदार्थ किनबेच र प्रयोगको अँध्यारो कथा भन्ने ‘केटिएम कक-टेल’ मात्र एक लाख पचास हजारमा निर्माण भएको स्वतन्त्र फिल्म हो। नाम नचलेका कलाकार र व्यवसायिक सूत्रबाट टाढा रहेर बनाइएको यो फिल्म स्क्रिप्ट बिना छायांकन गरिएको थियो।
छायांकन सुरू भएको एक हप्ता नहुँदै २०७२ मा आएको प्रलयकारी भुइँचालोबाट यो फिल्म प्रभावित भएको थियो। कालोपुलदेखि चाबहिल आसपासका ठाउँमा छायांकन गरिएको फिल्म सुरूमा अर्कै तरिकाले बनाउने तयारी भएको निर्देशक अनुष्कले सेतोपाटीलाई बताए।
उनले भने, ‘फिल्म खिच्ने पहिलाको सोच र तयारी भूकम्पले भत्काइदियो। धेरै कुरा बिथोलियो।’
सुरूमा लिखित स्क्रिप्टमा काम भइरहेको फिल्म त्यसपछि बिना स्क्रिप्ट खिचियो। निर्देशक अनुष्कका अनुसार छायांकन हुने अघिल्लो दिन केही आउटलाइन बनाएर कलाकारलाई संवाद बोल्न लगाइएको थियो।
स्क्रिप्टजस्तै यस फिल्ममा काम गर्ने कलाकार पनि ‘रअ’ छन्। न चलेका अनुहार, नाम न बिकाउ आइटम गीत। फिल्म प्रदर्शन गर्न सम्बन्धित वितरक र हलवाला हच्किए। त्यसैले ‘केटिएम कक-टेल’ निर्देशक अनुष्कले आफ्नो युट्युब च्यानल ‘केटिएम आर्ट’ बाट तीन वर्षअघि सार्वजनिक गरेका हुन्।
यो ‘क्विन्स वर्ल्ड फिल्म फेस्टिभल’ अमेरिकामा छनोट भएको फिल्म हो।