अब नेपाली फिल्म कुन मितिमा चलाउने ?
कोरोनाका कारण विगत १८ महिनादेखि फिल्म प्रदर्शन ठप्प छ । जसले गर्दा निर्माण सकेर बसेका दर्जनौं फिल्ममाथि भएको लगानी फ्रिज भएको छ भने हल व्यवसायीहरुले लाखौंको घाटा बेहोर्नुपरेको छ । हल नचले पनि मल्टीप्लेक्सको महिनामा १० लाख र सिंगल थिएटरको डेढ लाख बढी खर्च हुने गर्छ । कोरोनाले निर्मातालाई मात्र नभइ हलवालालाई पनि नराम्रोसँग थलाएको छ ।
गत महिना काठमाडौंसहितका प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल खोल्न अनुमति दिएको थियो । तर, प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा अनुमतिका बावजूद पनि हलहरु खुल्न सकेका छैनन् । शनिवारबाट बलिउडका फिल्महरुले प्रदर्शन मिति घोषणा गर्न थालेपछि भने आइतवार नेपाल चलचित्र संघले असोज २१ गतेबाट हल खोल्ने निर्णय गर्यो ।
प्रशासन कार्यालयले हल खोल्न अनुमति दिएपछि चलचित्र संघले दशैंबाट लगातार फिल्म रिलिज गर्ने भन्दै निर्माण सकेर बसेका फिल्मका निर्मातासँग तारन्तार छलफल गरेको थियो । तर, प्रायः निर्माताले एक करोडभन्दा बढी एमजी मागेपछि प्रदर्शकहरु भागाभग भए । एमजी विना फिल्म प्रदर्शन गर्न कोही निर्माता तयार नभएपछि प्रदर्शकहरु बलिउड फिल्म कुरेर बसेका थिए ।