अनलाइनबाट आइफोन मगाएर लुटेको आरोपमा युवक पक्राउ
अनलाइनबाट मगाएको आईफोन रिसिभ गरेपछि पैसा नदिई भाग्ने एकजना युवकलाई प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने १९ वर्षीय उर्गेन टासी शेर्पा छन् ।
माघ २६ मा उर्गेन टासीले अनलाइनबाट आईफोन–१२ प्रोम्याक्स र आईफोन–११ प्रोम्याक्स अर्डर गरेका थिए । बौद्ध स्तुपा नजिक सामान रिसिभ गरेपछि नजिकैको घर देखाएर पैसा लिएर आउँछु भनेर उनी भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
महानगरीय प्रहरी वृत बौद्धको टोलीले उनलाई पक्रेर चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।